२३ माघ, काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्रकी आमा तथा पूर्व मुमाबडामहारानी रत्न शाह बस्ने नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा चोरीको बिजुली बालिएको उजुरी परेको छ ।
त्यहाँ बलिरहेको बिजुली सरकारी कार्यालयबाट चोरिएको भन्दै नेपाल सरकारको संस्कृति मन्त्रालय र नेपाल बिद्युत प्राधिकरणमा उजुरी परेको हो ।
नारायणहिटीको स्वामित्व त्यहाँ स्थापित संग्राहालय ब्यबस्थापन समितिमा सरिसकेको छ । तर, राजा महेन्द्रको निजी स्वामित्वमा रहेको ‘महेन्द्र मञ्जिल’ भने उनकी पत्नी रत्न बस्न पाउने गरी सरकारले छाडिदिएको थियो ।
सरकारले घर नामसारीका लागि रत्नसँग आबश्यक कागजातसहित मालपोत कार्यालय जान भनेको थियो । तर, नागरिकता नभएका कारण रत्नले घर आफ्नो नाममा नामसारी गर्न पाइनन् ।
नागरिकता नभएकै कारण उक्त घरमा बिजुली, पानी र टेलिफोनको प्रबन्ध हुन नसकेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
राजदरबारका पूर्व सचिव शम्भुप्रसाद अधिकारीले आफ्नो नाममा रहेको टेलिफोन नम्बर रत्नका लागि टेलिफोन उपलब्ध गराइदिएका छन भने दरवारकै एक पूर्व कर्मचारीले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको ट्याङकरबाट खानेपानी ढुवानीको प्रबन्ध मिलाइदिएका छन् ।
बाँकी रह्यो चोरीको बात लागेको बिजुलीको कुरा । कुनै बेला दरबारकै कर्मचारी रहेका र पछि संग्रहालयका प्रमुख बनेका लेखबहादुर कार्कीले संग्रहालयबाट तार तानेर महेन्द्र मञ्जिलमा बिजुलीको ब्यबस्था गरिदिएका थिए ।
नियमअनुसार कुनै पनि सरकारले कार्यालयले कुनै निजी घरलाई बिजुली सप्लाई गर्न पाउँदैन् । जसका कारण त्यहाँ बलिरहेको बिजुली चोरीको भन्दै मन्त्रालय र प्राधिकरणमा उजुरी परेको छ ।
पारसलाई ज्ञानेन्द्रको चिठी
यसैवीच पासपोर्ट अभावमा थाइल्याण्डमा अलपत्र अबस्थामा रहेका पारसलाई नेपाल फर्किन बाटो खुलेको छ ।
त्यहाँको पर्यटन प्रहरीसँग रहेको पारसको पासपोर्ट लिन परिवारका सदस्य पुग्नैपर्ने बाध्यता भएपछि उनी थाइल्याण्डमा अडकिएका हुन् । तर, अब यो समस्या समाधान हुने भएको छ ।
निर्मल निवासबाट ज्ञानेन्द्रले थाइ प्रहरीलाई चिठी लेखेर पासपोर्ट उपलब्ध गराइदिन आग्रह गर्न लागेको छ । यसैवीच भारत भ्रमणमा रहेकी पारसकी पत्नी हिमानीले पारसलाई फोन गर्दै नेपाल फर्किन आग्रह गरेकी छिन् । उनले त्यहाँ तिर्न बाँकी भएको रकम पनि पठाइदिने आश्वासन दिएकी छिन् ।
- जनआस्था साप्ताहिक